नियम ७७
मुद्दाको सुनुवाइ नरोकिने
(१) मुद्दा पेसी सूचीमा चढेको कुनै पनि मुद्दा तारिख गुजारी थाम्न पाउने म्याद बाँकी भएको भन्ने समेतको कुनै कारणले सो सूचीबाट हटाइने छैन र वारिस वा कानून व्यवसायी हाजिर नभए पनि मुद्दा स्थगित हुने छैन ।
(२) मुद्दाको पक्ष वा कानून व्यवसायीले काबु बाहिरको परिस्थिति परी मुद्दा इजलास समक्ष पेस हुने दिनमा अदालतमा उपस्थित भई सुनुवाइमा सरिक हुन नसक्ने भनी साप्ताहिक पेसी सूचीबाटै कुनै मुद्दा स्थगित गर्न निवेदन दिएमा र सो निवेदनको बेहोरा मनासिब लागेमा प्रधान न्यायाधीशले निवेदकको माग बमोजिम त्यस्तो मुद्दा साप्ताहिक पेसी सूचीबाटै स्थगित गर्न सक्नेछ ।
(३) मुद्दाको पक्ष वा कानून व्यवसायीले आफ्नो काबुभन्दा बाहिरको परिस्थितिले गर्दा अदालतमा उपस्थित हुन नसक्ने कुराको अदालतलाई विश्वास हुने कारण देखाई मुद्दा पेसीको दिनभन्दा अघिल्लो दिन निवेदन दिएमा प्रधान न्यायाधीशले त्यस्तो मुद्दा दैनिक पेसी सूची प्रकाशन गर्दा नै स्थगित गर्न सक्नेछ ।
(४) उपनियम (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि पक्ष वा कानून व्यवसायीले मुद्दा पेसीको अघिल्लो दिन मुद्दाको सुनुवाइ स्थगित गर्न निवेदन दिन नपाएको मनासिब कारण उल्लेख गरी आफ्नो काबुभन्दा बाहिरको परिस्थितिले गर्दा मुद्दाको सुनुवाइ स्थगित गर्न इजलास बस्नु भन्दा अगाडि निवेदन दिएमा सम्बन्धित इजलासले त्यस्तो मुद्दाको सुनुवाइ स्थगित गरी दिन सक्नेछ ।
(५) हेर्दाहेर्दैको मुद्दा, इजलासले सुनुवाइको मिति तोकिदिएका मुद्दा, लगाउका मुद्दामध्ये कुनै वा केही मुद्दा मात्र स्थगित गराउन निवेदन परेको मुद्दा, दुई पटक स्थगित भईसकेको मुद्दा, प्रचलित कानून बमोजिम फैसला गर्नु पर्ने समयावधि नाघेका मुद्दा, नियम ७४ को उपनियम (५) बमोजिम पेसी तोकिएका मुद्दा, एकै पक्षको एकभन्दा बढी कानून व्यवसायी रहेको मुद्दा, आफ्नो पक्षमा अन्तरिम आदेश जारी भएको वा आफ्नो माग बमोजिम अग्राधिकार पाएको मुद्दाको पक्ष वा निजको कानून व्यवसायीको माग बमोजिम मुद्दाको सुनुवाइ स्थगित हुने छैन।
तर पक्षको कानून व्यवसायी बिरामी भई अस्पताल भर्ना भएको वा बहस गर्न उपस्थित हुन नसक्ने विशेष पारिवारिक परिस्थिति परेको भरपर्दो आधार देखाई मुद्दा पेस हुने दिनको इजलास बस्नुभन्दा अगाडि नै मुद्दाको सुनुवाइ स्थगित गर्न निवेदन दिएमा इजलासले त्यस्तो मुद्दाको सुनुवाइ स्थगित गर्न सक्नेछ ।
(६) उपनियम (५) मा उल्लिखित अवस्था परेको बाहेक अन्य अवस्थामा अग्राधिकार पाएको पक्षको कानून व्यवसायीले मुद्दाको सुनुवाइ स्थगित गराउन निवेदन दिएमा अग्राधिकार समाप्त हुनेछ ।
(७) यस नियमबमोजिम मुद्दा स्थगित गर्दा बढीमा दुई पटकसम्म मुद्दाको सुनुवाइ स्थगित गर्न सकिनेछ ।
तर नियम ७४ को उपनियम (५) को हकमा सोही बमोजिम हुनेछ ।
(८) अदालतको एउटा इजलासमा उपस्थित भई बहस गर्ने कानून व्यवसायीले सोही दिन अर्को इजलासको मुद्दाको सुनुवाइ स्थगित गर्न निवेदन दिन पाउने छैन ।
(९) अदालतले दुई पटकभन्दा बढी मुद्दाको सुनुवाइ स्थगित गर्न निवेदन दिने वा अदालतको एउटा इजलासमा बहस गरी अर्को इजलासको मुद्दाको सुनुवाइ स्थगित गर्न निवेदन दिने कानून व्यवसायीको अभिलेख राख्नेछ ।